काठमाडौं ।
सिद्धार्थ बैंकले अक्सिजन लोन सेवा सुरु गरेको छ । बैंकले देशमा विद्यमान कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरूको उपचारको क्रममा अस्पताल तथा नर्सिङ होमहरूमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरूको खरिद तथा क्षमता विस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ होमहरूलाई लक्षित गरी सिद्धार्थ अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार यो कर्जाको विशेषतामा कर्जा अवधिभर बैंकको आधारदरमा कर्जा प्रदान गरिने, सम्बन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुतmानी अवधि तय गरिने, अन्य कुनै पनि सेवा शुल्क नलाग्ने र उच्च प्राथमिकताका साथ कर्जा प्रोसेसिङ गरिने रहेका छन् ।
यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिकाअनुरूप हुनेछ । सिमित अवधिका लागि ल्याइएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मदत पु-याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यस आवमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड चार लाख प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरेको जानकारी दिएको छ ।