अमेरिका ।
सवारीसाधन निर्माता हुन्डाई र कियाले अमेरिकामा विद्युतीय सवारीसाधन उत्पादनमा अर्बौँ डलर लगानी गर्ने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विद्युतीय कार र भविष्यका प्रविधिहरुमा लगानीको खोलो बगाउन लागेका हुन् ।
दक्षिण कोरियाली कार निर्माताले बिहीबार सात अर्ब ४० करोड अमेरिकी डलर आगामी चार वर्षमा लगानी गर्ने घोषणा गरेको हो । यसमार्फत विद्युतीय सवारीसाधन उत्पादन विस्तार गर्न कम्पनीहरुलाई सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ । हुन्डाईले अर्को वर्षदेखि अमेरिकामै विद्युतीय सवारीसाधन उत्पादन थाल्ने बताएको छ । अमेरिकी राज्य अलाबामामा कम्पनीको अहिले नै एक अर्ब ८० करोड अमेरिकी डलरको कारखाना छ ।
किया पनि हुन्डाईकै स्वामित्वको कम्पनी ब्रान्ड हो । अमेरिकी सरकारले उनीहरुको योजनालाई सहयोग गर्ने बताएको छ । राष्ट्रपति जो बाइडेनले विद्युतीय सवारीसाधन उत्पादनमा अमेरिकाले नेतृत्व गर्ने बताएका छन् । उनले यसअघि नै विद्युतीय सववारीसाधनमा एक खर्ब ७४ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेका छन् ।
उनले अमेरिकामै बनेका विद्युतीय गाडी किन्न ग्राहकलाई प्रेरित गर्दै आएका छन् । दुवै कम्पनीले अमेरिकी बजार अवस्थाको र अमेरिकी विद्युतीय सवारीसाधन नीतिको अध्ययन गर्ने जनाएका छन् ।