काठमाडौं, माघ १
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सहयोगी विकास बैंकबीच सम्झौता भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन)सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्सले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगीलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेको हो ।
सोमबार बैंकको मुख्य कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्सको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगीको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुुन् । दुवै बैंकले आ–आफ्नो विशेष/वार्षिक साधारणसभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।
यही २०७६ पौष २७ गते सम्मको तथ्याङ्कको आधारमा सिटिजन्सले सहयोगीलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रूपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रूपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा ९९ हुनेछ । सहमतिअनुसार, सहयोगी विकास बैंक लिमिटेडका सेयरधनीहरूले एक सय कित्ता सेयरबराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१ दशमलव ७५ कित्ता सेयर पाउनेछन् ।
हाल सिटिजन्स बैंकको चुक्ता पूँजी आठ अर्ब ६२ करोड रूपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी नौ अर्ब आठ करोड रूपैयाँ हुनेछ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्सको नौवटा शाखाहरू सञ्चालनमा रहेकोमा यस बैंकको प्राप्तिसँगै २३ वटा शाखाहरू सञ्चालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्सले हाल देशैभरि फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटीएम र एक सय तीन वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाइजस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरूको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।