काठमाडौं ।
मेटलाइफ फाउन्डेसनले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असहाय व्यक्तिहरूका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु-याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरूद्वारा स्थापना गरिएको एक गैरनाफामूलक संस्था हो ।
फाउन्डेसनको सो अनुदानले एएनएमएफलाई देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन केन्द्र तथा अस्पतालहरूमा उच्चबहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटरलगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ । उच्च संख्यामा बढिरहेका गम्भीर अवस्थाका विरामीहरूका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनीकरण गर्न थप सक्षम बनाउन मदत गर्नेछ ।
मेटलाइफ नेपालक महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भने, ‘आवश्यकताको यस घडीमा हामी सबै अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसहरूको स्वास्थ्य र जनहितका लागि हरसम्भव प्रयासहरू गरिरहेका छौँ । मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौँ र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेसनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ ।’
मेटलाइफ फाउन्डेसनको बारेमा : मेटलाइफ फाउन्डेसनमा हामी आर्थिक स्वस्थता सबैंको लागि हो भन्ने मान्यता राख्दछौँ । आर्थिक अक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागि हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपूर्ण अनुदान उपलब्ध गराउँदछौँ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाइफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिवृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरूसँग सहकार्य गर्दछौँ । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्परालाई निरन्तरता दिन मेटलाइफ फाउन्डेसन सन् १९७६ मा स्थापित भएको होे ।
स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेसनले ९० करोड अमेरिकी डलर अनुदान तथा साढे आठ करोड अमेरिकी डलर मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरूको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरूसँग सम्बन्धित लगानी गरिसकेको छ । यसको वित्तीय स्वास्थ्य कार्यको पहुँच ४२ देशहरूका एक करोड ३४ लाखभन्दा ज्यादा कम र मध्यम आय भएका व्यक्तिहरूमाझ रहेको छ । मेटलाइफ फाउन्डेसनको बारेमा अझ जानकारी मेटलाइफ डट ओआरजीबाट लिन सकिनेछ ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको बारेमा : अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले नपालमा स्वास्थ्य प्रशिक्षण, अनुसन्धान तथा अभ्यासको उन्नतिलाई प्रवद्र्धन गर्दछ । सन् १९९७ देखि नेपालमा सञ्चालनमा रहेको यस संस्था संयुक्त राज्य अमेरिकामा ५०१ (सि) (३) अन्तर्गत दर्ता भएको गैरनाफामूलक संस्था हो । एएनएमएफका सम्पूर्ण सदस्यहरू स्वयंसेवी भएकाले आर्थिक अनुदानहरू नेपालका संस्थाहरूमा सोझै पठाइन्छ ।
मेटलाइफ नेपालको बारेमा : मेटलाइफ नेपाल सन् २००१ डिसेम्बरदेखि नेपालमा सञ्चालन भइरहेको मेटलाइफ इन्कर्पोरेटको शाखा हो । नेपालमा बीमा इजाजतपत्र पाउने पहिलो कम्पनी मध्येको एक, मेटलाइफ प्रतिस्पर्धी मूल्यमा आकर्षक बीमा सुरक्षा र सुविधाहरू जस्तै : जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, तथा कर्मचारी लाभ बीमा प्रदान गर्ने अग्रणी बीमा कम्पनी पनि हो ।
हाम्रो व्यवसाय भनेको स्थानीय समुदायको आवश्यकताहरू बुझी उनीहरूलाई आफ्नो एजेन्ट तथा संस्थागत साझेदाहरूको सञ्जालमार्फत मदत गर्नु हो । कम्पनीसँग नेपालमा हाल आठ हजारभन्दा बढी एजेन्टहरू छन् जसले प्रत्येक ग्राहकका लागि उपयुक्त योजना सुनिश्चित गर्न कडा मिहिनेत गर्दछन् ।