लन्डन ।
अनलाइन मुद्रा बिटक्वाइनको मूल्य तीन महिनायताकै न्यून विन्दुमा पुगेकोा छ । टेस्लाका मालिक एलन मस्कले केही दिनअघि बिटक्वाइनबाट कारोबार गर्ने निर्णयबाट कम्पनी पछि हटेको बताएका थिए । त्यसपछि फेरि टेस्लाले खरिद गरेको डेढ अर्ब डलरको बिटक्वाइन समेत बेचिसकेको हल्लापछि क्रिप्टोकरेन्सी सोमबार थप खस्किएको थियो ।
यस्तो हल्लापछि मस्कले ट्विट गर्दै खरिद गरेको बिटक्वाइन बिक्री नगरेको बताए । त्यसपछि भने यसको मूल्यमा केही सकारात्मक प्रभाव देखिएको बताइएको छ । मस्कले भनेका छन्, ‘टेस्लाले कुनै पनि बिटक्वाइन बिक्री गरेको छैन ।’
पछिल्लो समय मस्ककै ट्विटका कारण बिटक्वाइन मूल्यांकनमा उतारचढाव आइरहेको छ । सोमबार नौ प्रतिशतभन्दा धेरैले बिटक्वाइन खस्किएर एक बिटक्वाइनको मूल्य ४२ हजार एक सय ८५ अमेरिकी डलरमा झरेको छ । जुन फेब्रुअरी ८ यताकै न्यून हो । तर फेरि केही बढेर ४५ हजार एक सय ९० अमेरिकी डलर पुगेको छ ।
यता अर्को क्रिप्टोकरेन्सी एथेरियम ब्लकचेन पनि तीन हजार एक सय २३ दशमलवव ९४ अमेरिकी डलरमा झरेको छ । पछि फेरि केही सुधार भएर तीन हजार पाँच सय ४० अमेरिकी डलरमा आइपुगेको रोयटर्सले जनाएको छ । डजक्वाइन पनि झण्डै सात प्रतिशतले घटेको बताइएको छ ।