काठमाडौं ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट पत्ता लागेको छ । नयाँ पत्ता लागेको भेरिएन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा मात्र होइन विश्वभर नै १८ वर्षभन्दा तल्लो उमेरका केटाकेटीका लागि अहिलेसम्म भ्याक्सिन उत्पादन भएको छैन । नयाँ भेरिएन्टले सबै उमेर समूहलाई जोखिम बढाएको निष्कर्ष निकालिएको कारण खासगरी १८ वर्षभन्दा कम उमेरका केटाकेटी अझ बढी प्रभावित हुने देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका विभिन्न भागबाट ३५ वटा नमूना संकलन गरेर भारतमा परीक्षण गर्न पठाइएकोमा मंगलबार रिपोर्ट आएको थियो । मन्त्रालयका अनुसार ९७ प्रतिशत अर्थात् ३४ वटामा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको छ । मंगलबार आएको तेस्रो भेरिएन्टसहित नेपालमा तीन किसिमका भेरिएन्ट पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ । नयाँ भेरिएन्ट नेपालमा प्रवेश गरेको पुष्टि भएपछि मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न/गराउन अपिल गरेका छन् ।
नेपालमा मंगलबार आठ हजार दुई सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार दुई सय ८६ पीसीआर परीक्षण गर्दा आठ हजार एक सय ३६ र छ सय ९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा सङ्क्रमणबाट एक सय ९६ को ज्यान गएको छ भने छ हजार आठ सय ९१ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।
मंगलबार काठमाडाँैमा दुई हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा तीन सय ६५ र भक्तपुरमा दुई सय २१ संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार तीन सय ३९, ललितपुरमा छ हजार नौ सय ९० र भक्तपुरमा चार हजार नौ सय १६ छन् । तीमध्ये एक हजार पाँच सय ९० जनाको आईसीयू र तीन सय ९० का भेन्टिलेटरमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा पाँच सय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा पाँच सय बढी सक्रिय सङ्क्रमित छन् ।
यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या पाँच सय बढी छ । सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर घट्नसकेको छैन ।
नेपालमा हालसम्म चार लाख ७२ हजार तीन सय ५४ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६१.७२ प्रतिशत अर्थात् दुई लाख ९१ हजार पाँच सय ३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात् एक लाख ८० हजार आठ सय २१ महिला छन् ।
सङ्क्रमितमध्ये तीन लाख ५२ हजार चार सय १४सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट पाँच हजार चार सय ११ ले ज्यान गुमाएका छन् ।