काठमाडौं ।
नबिल बैंक लिमिटेड र वीर अस्पतालबीच सम्झौता भएको छ । वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नाम्स उपकुलपतिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यसैबीच चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) सँग सम्झौता गरेको छ । फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेकोमा वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको चौधरी फाउन्डेसनले जानकारी दिएको छ । अक्सिजन प्लान्टको क्षमता ५० क्यूबिक मिटर, प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका एक सय ५० सिलिन्डर अक्सिजन भर्न सकिने फाउन्डेसनले जानकारी दिएको छ ।
फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको उल्लेख गरेका छन् ।