काठमाडौं, माघ २
काठमाडौंको मीनभवनका एक व्यक्तिको चार रोपनी जग्गा व्यवसायीहरु रामेश्वर थापा, मनोजकुमार मिश्रा, कालु गुरुङलगायतका तीन दर्जन भन्दा बढी व्यक्तिले मिलेमतोमा ठगी गरेको भन्दै फिर्ताको माग गर्दै गत सोमबारदेखि आमरण अनशन सुरु गरिएको छ । पीडित गणेशलाल अवालेको परिवार र रविन्द्र उप्रेतीका परिवार अनशनमा बसेका हुन् । पीडकहरुले करोडौंको जग्गा किर्ते गरी लिएको पीडित पक्षको दाबी छ । जग्गा खाने समूहका व्यक्तिहरुको नाम नै ब्यानरमा लेखेटर टाँस गरी अनशनमा बसेका हुन् । थापा सञ्चार व्यवसायी हुन् भने अन्य अधिकांश घरजग्गा कारोबारमा संलग्न छन् । ।
अनशनस्थलमा टाँगिएको ब्यानरमा किर्ते गरी जग्गा खानेहरुमा नारायण बहादुर कार्की–१, मनोज कुमार मिश्रा, सन्तोष खनाल, अरुणलाल श्रेष्ठ, प्रविर शमशेर जवरा, चन्द्र कुमार कार्की, सुरेशराज घिमिरे, नन्द किशोर बस्नेत, रामकृष्ण हुमागाइँ, कालु गुरुङ, सचला श्रेष्ठ, अनुजमान सिंह श्रेष्ठ, डिल्ली बजार मालपोत प्रमुख पद्मनिधी सोती, कुमारी बैंकका सिइओ उदय कुमार उपाध्याय, सोही बैंकका सहायक सीईओ राजिव गिरी, कर्जा विभाग प्रमुख नरेन्द्र छत्कुली, सोही बैंकका कर्मचारी सञ्जीव सैजु, दिनेशनाथ तिवारी, डिल्लीबजार मालपोत कार्यालयका अधिकृत गोपाल गिरी, नासु पिताम्बर भण्डारी, नासु गोरखबहादुर खड्का, नासु खेम नारायण श्रेष्ठ, शाखा अधिकृत प्रकाश चौलागाईं, तत्कालीन मालपोत प्रमुख टिकाराम घिमिरे, सुर्य प्रसाद अधिकारी, सुर्यकान्त झा, चनुमाया श्रेष्ठ, प्रेम बहादुर खापुङ र विक्रम प्रसाद पाण्डे र काठमाडौं जिल्ला अदालत फिराँद फाँका फिराद जाचक अधिकृत टिकासिंह खत्री रहेका छन् ।
अवालेको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १० हाल ३२ को सिट नम्बर १०२–११८६–०४ को कित्ता नम्बर ३४१ क्षेत्रफल ४ रोपनी ८ आना, ३ पैसा १ दाम जग्गा भूमाफयाहरुले योजना बद्ध रुपमा ठगी गरेका हुन् । अवालेको नाममा रहेको ४ रोपनी ८ आना तीन पैसा एक दाम जग्गा मात्रै होइन उनको नाममा रहेको दुई तले २ वटा घर समेत भत्काइदिएको र उक्त घरजग्गा आफूलाई थाहा नै नदिई डिल्ली बजार मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा किर्ते कागजात बनाई राजिनामा पास गराइदिएको उनीहरुले बताउँदै आएका छन् ।