सिंगापुर। भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिंगापुरले आपत्ति जनायो । सिंगापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ संक्रमणलाई भारतीय अधिकारीले सिंगापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्विट गरेर सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाइ सेवा बन्द गर्नुपर्ने बताएका थिए ।
भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी गराएको छ । विदेशमन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको टिप्पणीलाई अनाधिकारिक बताएका छन् । उनले सिंगापुरस्थित भारतीय उच्चायोगले यस विषयमा केजरीवालसँग कोरोना भाइरसको भेरिएन्ट वा नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई बताएको छ ।
विदेशमन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्विट रिट्विट गर्दै लेखेका छन्, ‘सिंगापुर र भारत कोभिड–१९ को लडाइँमा बलिया साझेदार हुन् । लजिस्टिक हब र अक्सिजन आपूर्तिका लागि सिंगापुरले निर्वाह गरेको भूमिकाको भारत प्रशंसा गर्दछ । हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य विमान पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ ।’यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा असर पर्ने तर दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाइ नभएको विदेशमन्त्री जयशंकरले बताएका छन् ।