काठमाडौं ।
अर्थविद् तथा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने भएकोले खोपमा लगानी गर्न सरकारसँग आग्रह गरेका छन् । कोरोना महामारीका कारण देशको अर्थतन्त्र धराशायी बनेको बताउँदै उनीहरूले तत्काल खोप खरिदमा जोड दिन सरकारसँग माग गरेका हुन् । मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरूले उद्योग व्यवसाय सञ्चालन गर्दै कोरोना नियन्त्रणका लागि तत्काल खोपको जोहो गर्नुपर्ने बताए । एउटा मात्रै देशको भर पर्न नहुने र जुनसुकै देशबाट खोप ल्याएर भए पनि अहिले राज्यले खोपमा लगानी गर्र्नुपर्ने उनीहरूको भनाइ छ ।
कार्यक्रममा वरिष्ठ अर्थविद् नरबहादुर थापाले नेपाललगायतका अन्य दक्षिण एसियाली देशहरूमा कोरोना महामारीका कारण अर्थतन्त्र धराशायी भएको बताए दक्षिण एसियाको अर्थतन्त्र उठ्न केही समय लाग्ने उनको भनाइ छ । जुन देशले उद्योग क्षेत्रलाई प्राथमिकता दियो त्यो देश अगाडि बढेको र महामारी धक्काबाट अर्थतन्त्रलाई जोगाउन सफल भएको उनले बताए । अन्य देशको अनुभवबाट नेपालले सिक्नुपर्ने भन्दै उनले अहिले कोरोनाको समयमा नेपालको अर्थतन्त्रलाई वैदेशिक रोजगारीले मात्र धानेको बताए । कोरोना महामारीले नेपालमा २७ लाख नेपाली नागरिक बेरोजगार बनेको उनको भनाइ छ ।
अर्थविद् थापाले सरकारको खर्च हुन नसकेको तीन सय ४५ अर्ब रकम नेपाल राष्ट्र बैंकमा रहेको भन्दै यसबाट कोरोना नियन्त्रणका लागि प्रयोग गर्न सकिने बताए । अब आउन लागेको अर्थनीतिमा स्वास्थ्य सुरक्षा, अर्थतन्त्रलाई कसरी बलियो कृषि र उद्योगलाई जोड्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट फेरि एक वर्षका लागि कर्जाको समय अवधि थप्नुपर्ने अर्थविद् थापाले बताए । उनले भने, ‘राष्ट्र बैंकले कुन क्षेत्रमा कर्जा दिने, प्राथमिक क्षेत्रबाट अन्य क्षेत्रलाई पनि सहजरूपले कर्जाको विस्तार गर्नुपर्छ ।’
कार्यक्रममा चेम्बर अफ कमर्सका उद्योग समिति सभापति भिमलाल पौडेलले कोरोनाका कारण चीनबाट सामानहरू ल्याउन डेढ वर्षदेखि बन्द रहेको बताए । उनले अहिले केही उद्योगहरू सञ्चालन रहे पनि कच्चा पदार्थका कारण बन्द भएको जानकारी दिए । उनले भने, ‘कोरोनाका कारण जब बजार नै बन्द छ, देश नै ठप्प छ भने उद्योगका लागि कच्चा पदार्थ कहाँबाट पाउनु ।’
व्यवसायी पौडेलले उद्योगीहरूलाई बैंकको ब्याज र स्टाप, मजदुरलाई पेमेन्ट गर्नुपर्ने हुँदा अहिले उद्योहरूको अवस्था भयावह अवस्थामा पुगेको बताए । विभिन्न सेक्टरमा बैंकसम्म लोन थप्ने, थपेको लोनबाट व्याज तिर्ने, केही कर्मचारीलाई पेमेन्ट गर्ने अवस्था रहेको व्यवसायी पौडेलले बताए । सरकारले उद्योगी, व्यवसायीका समस्या कसरी समाधान गर्ने, कसरी राहत पु-याउने भन्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो । उनले खोपको व्यवस्थापन छिटो गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
पूर्वमन्त्री एवं फरवड माइक्रोफाइनान्सका अध्यक्ष भगवति चौधरीले कोरोनाका कारण माइक्रो फाइनान्सदेखि सबै क्षेत्रहरू धराशायी भएको बताइन् । सरकारले क्राइसिसको बेला सबै सेक्टरलाई समेट्नपर्ने उनको भनाइ छ । उनले लघुवित्तहरूले संयमता अपनाएको उल्लेख गर्दै बन्दका बेला लघुवित्तले सदस्यहरूलाई राहत उपलब्ध गराएको बताइन् ।
कार्यक्रममा वरिष्ठ व्यवसायी एवं हिमालय सीमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले कोरोना महामारीका कारण थुप्रै व्यवसाय धराशायी अवस्थामा पुग्न लागेकोले वैकल्पिक व्यवस्थाबाट व्यवसाय सञ्चालन गरी अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए । उनले व्यवसायीहरूलाई सामान आयात र निर्यातमा सहजीकरण गर्न माग समेत गरे । सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन मात्रै गरेर नहुने भन्दै उनले अर्थतन्त्र चलायमानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ताले कोरोनाका कारण सुन व्यवसाय बन्द भएको र यसको आयात निर्यात नै ठप्प भएको बताए । उनले भने, ‘अहिले सुनको आयत पनि बन्द भएको अवस्था छ । निर्यात पनि कम मात्र भएको छ ।’
गुप्ताले पनि सरकारले लकडाउन खोलेर व्यापार व्यवसाय सुचारु गर्न दिनुपर्ने बताए । मेकअप तथा ब्यूटी प्याजनका व्यवसायी टेकराज पाण्डेले कोरोनाका कारण ब्यूटी सैलुङ क्षेत्रमा बढी प्रभाव पारेको बताए । कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, आर्थिक उन्नती सहकारीका अध्यक्ष जनार्जन सापकोटा, व्यवसायी कृष्ण भट्टराईलगायतले लकडाउन अवधिभरिमा खोपको व्यवस्था गरेर बजार व्यवसाय मापदण्डका आधारमा खोल्नुपर्नेमा जोड दिएका थिए ।