काठमाडौं ।
प्रभु इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । तीनकुने काठमाडौँस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा विद्युतीय माध्यमबाट भर्चुअलरूपमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने करबापत शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी जम्मा १० दशमलव ५३ प्रतिशत लाभांश साधारणसभाबाट स्वीकृत भएको छ ।
बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बाबजुद कम्पनीले बीमा क्षेत्रमा एक सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको तथा व्यवसाय वृद्धि, दाबी भुक्तानी तथा खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेका कारण सेयरधनीहरूलाई प्रतिफल दिन सक्षम भएको बताउँदै विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण मुलुकभर आर्थिक क्रियाकलापहरू प्रभावित हुन गएको बताए ।
कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरू प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ–नयाँ प्रविधिहरूको अधिकतम प्रयोग गर्दै सेवाग्राहीहरूलाई सहजरूपमा सेवा प्रदान गरी सेयरधनीहरूलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिएको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्र्ब १६ करोड १९ लाख दुुई हजार पुगेको छ । साथै कम्पनीले केन्द्रीय कार्यालयसहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरूबाट सेवा प्रदान गरिरहेको छ ।