काठमाडौं ।
धितोपत्र बजारमा पुनः एक अर्ब नौ करोड ९४ लाख ९४ हजार रुपैयाँबराबरको साधारण सेयर निष्काशनको प्रक्रियामा छ । नेपाल धितोपत्र बोर्डका अनुसार पछिल्लो समय एउटा लघुवित्त वित्तीय संस्था र दुईवटा हाइड्रोपावर कम्पनीसहित तीनवटा कम्पनीहरुको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक करोड दुई लाख ९४ हजार नौ सय ४० कित्ता साधारण सेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
सोमध्ये मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ८९ लाख रुपैयाँबराबरको तीन लाख ८९ हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुमति माग्दै आवेदन दिएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार उक्त संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी बलेफी हाइड्रोपावर लिमिटेडले पनि आयोजना प्रभावित क्षेत्रका स्थानीय जनता र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३६ लाख ५५ हजार नौ सय ४० कित्ताबराबरको साधारण सेयरको लागि अनुमति माग गरेको हो । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
ग्रीन भेञ्चर प्रालिले पनि ६२ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६२ लाख ५० हजार कित्ता साधारण सेयरको लागि आवेदन दिएको हो ।
बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । ती कम्पनीहरुको वित्तीय अवस्था एवं आवश्यक कागजात हेरेर छिट्टै नै सेयर निष्काशनको लागि अनुमति दिइने बोर्डले जानकारी दिएको छ ।
