काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एयरलाइन्सहरूमा नेपालममै उत्पादिक बटर, चिजलगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलउन राष्ट्रिय दुग्ध संस्थानलाई आग्रह गरेकी छिन् ।
संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा शनिबार भएको बैठकमा मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दहीलगायतका दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिइन् ।
उनले खासगरी घिउ, नौनी, चीजलगायतका उत्पादनको बजारीकरण गर्नुपर्ने भन्दै निर्यात प्रवर्द्धन गर्नेखालका सैद्धान्तिक, नीतिगत व्यवस्था गर्नुपर्ने भएमा अगाडि बढाउन आग्रह समेत गरिन् । उत्पादन बढाउन मन्त्रालयले मेसिनसहितका कार्यक्रमहरू सञ्चालन गरिरहेका भन्दै उनले मिठाइलगायतका नयाँ उत्पादनहरू उत्पादनको सुरुवात गरी प्रतिस्पर्धी बजारमा निर्यात गर्ने बताइन् । अर्थमन्त्रीसँग सफ्ट लोनको विषयमा कुराकानी भइरहेको पनि उनले जानकारी दिइन् ।
दुग्ध किसानको बक्यौता चुक्ताका लागि हालसम्म स्टकमा रहेको सामग्री सरकारले खरिद गर्ने विषय उठेकोले त्यसको आवश्यक सहजीकरणका विषयमा छलफल गरिने समेत उनले बताइन् । तत्काल किसानको भुक्तानी गर्ने, ज्वलन्त समस्या कसरी समाधान गर्ने भन्ने विषयमा विकल्पसहित छलफल गरी निष्कर्ष निकाल्न समेत संस्थानलाई निर्देशन दिइन् ।