काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २७ सय ८७ दशमलव १८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९८ दशमलव ९७ बिन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय १८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार पाँच लाख ६९ हजार दुई सय ४७ पटकको कारोबारमा १० करोड ८६ लाख ९७ हजार छ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ५२ अर्ब ५६ करोड ४७ लाख तीन रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै २० अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार तीन लाख ३८ हजार दुई सय आठ पटकको कारोबारमा छ करोड ७९ लाख ३७ हजार २८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब ६१ करोड ६४ लाख ११ हजार सात सय १३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौँ कार्य दिन बजार परिसूचक उकालो लागेको थियो भने चौथो कार्यदिन बजार परिसूचक ओरालो लागेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक ५४ दशमलव २१ अंकले उकालो लागेर २७ सय ३८ दशमलव २९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६४ बिन्दुले उकालो लागेर चार सय ८८ दशमलव १४ बिन्दुमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक २० दशमलव ७१ अंकले उकालो लागेर २७ सय ५९ दशमलव २१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ बिन्दुले उकालो लागेर चार सय ९२ दशमलव २८ बिन्दुमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ३४ दशमलव ६८ अंकले उकालो लागेर दुई हजार सात सय ९३ दशमलव ८९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंंकले उकालो लागेर चार सय ९७ दशमलव २२ बिन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक १३ दशमलव नौ अंकले ओरालो लागेर दुुई हजार सात सय ८० दशमलव ८१ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव आठ अंकले ओरालो लागेर चार सय ९६ दशमलव १४ बिन्दुमा झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक छ दशमलव ३७ अंकले उकालो लागेर दुई हजार सात सय ८७ दशमलव १८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले उकालो लागेर चार सय ९८ दशमलव ९७ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।