काठमाडौं । प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार एक सय सातवटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ । तीमध्ये तीन हजार पाँच सय ७६ वटा भरिएका र छ हजार पाँच सय ३१ वटा खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म नौ हजार तीन सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै सात सय २९ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेका छन् । आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघ÷संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म उक्त सिलिन्डरहरु संकलन गरिएको हो । यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघ/संस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।