काठमाडौं ।
वाणिज्य बैंकहरूको कुुल चुक्ता पुँजी तीन खर्ब १९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले उक्त अनुपातमा चुक्ता पुँजी कायम गरेका हुुन् ।
अहिले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ भने सबैभन्दा कम चुक्ता पुँजी बहुुराष्ट्रिय कम्पनीद्वारा प्रवद्र्धित स्ट्यान्डर्ड चार्टर्ड बैंक र भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकको रहेको छ । ग्लोबल आईएमई बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा २१ अर्ब ६३ करोड २० लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी पु-याइसक्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकले यस अवधिमा आठ अर्ब रुपैयाँको हाराहारीमा चुक्ता पुँजी पु-याएका छन् । आठ अर्ब भनेको वाणिज्य बैंकहरूको लागि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी मात्र हो ।
वाणिज्य बैंकहरूमध्ये चुक्ता पुँजी बढी हुुनेमा कृषि विकास बैंक दोस्रो स्थानमा छ । कृषि विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यद्यपि यस अवधिमा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि चुक्ता पुँजी १६ अर्ब रुपैयाँभन्दा बढी कायम गरिसकेका छन् ।
चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा प्रभुु बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेशनल चुक्ता पुँजी भने ११ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यीबाहेक सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक र एनसीसी बैंकले भने चालू आवको पछिल्लो अवधिमा चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा माथि पु-याएका छन् । यस अवधिमा बैंक अफ काठमाण्डू, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे बैंकले भने न्यूनतम चुक्ता पुँजी नौ अर्ब रुपैयाँभन्दा बढी पु¥याएका छन् ।
चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकतर्फ सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमईको भए पनि बढी चुक्ता पुँजीतर्फको ग्लोबलको एकाधिकार अब तोडिने भएको छ । वाणिज्य बैंकहरूमध्ये निकै सबल र सक्षम मानिएका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमार्फत एकीकृत कारोबार गर्नको लागि प्रारम्भिक सम्झौता गरेसँगै ग्लोबलको बढी चुक्ता पुँजीतर्फको एकाधिकार तोडिने भएको हो ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । एकीकृत कारोबारपश्चात् बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । यी दुवै बैंकले केही महिनाभित्र नै एकीकृतरुपमा कारोबार सञ्चालन गर्ने तयारी गरेका छन् । एकीकृत कारोबारपश्चात् २६ वटा वाणिज्य बैंकहरूमध्ये हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्नेछ ।
