काठमाडौं ।
निषेधाज्ञा अवधिभर एसियन लाइफले नवीकरण शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो । निषेधाज्ञा जारी भएदेखिको नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिन लागेका हौँ, कम्पनीले भनेको छ ।
कम्पनीका अनुसार कोभिड १९ महामारीको कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नवीकरण भुक्तानी गर्न बाँकी रहेकाहरूलाई छुट दिने यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यो व्यवस्थाअनुसार वैशाख १६ गतेदेखि नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज अर्को सूचना जारी नभएसम्मको लागि छुट दिइनेछ ।
कम्पनीले बीमाशुल्क अनलाइनमार्फत इ–सेवा, फोन–पे, मोबाइल बैंकिङ एप्स र कनेक्ट आईपीएसको माध्यमबाट पनि भुक्तानी गर्नसकिने व्यवस्था मिलाएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड २१ लाख ११ हजार आठ सय आठ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड सात लाख २२ हजार छ सय ४७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २७ रुपैंयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १२ रुपैयाँ आठ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ४० रुपैयाँ ८४ पैसा रहेको छ ।