कोलम्बो ।
श्रीलंकामा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु भएको र दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको अधिकारीहरूले बताएका छन् । मृतकमध्ये पाँच व्यक्ति राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढा रहेको केगालेका रहेका छन् भने तीन रत्नपुरा जिल्लाका रहेका छन् ।
वर्षापछि आएको बाढीका कारण केही व्यक्ति हराइरहेका र केही घाइते भएका बताइएको छ । श्रीलंकाको विपत् व्यवस्थापन केन्द्रका अनुसार १५ हजार छ सय ५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ भने आठ सय घरहरूमा आंशिक तथा पूर्ण क्षति भएको छ ।
श्रीलंकाको मौसम विज्ञान विभागले जारी गरेको मौसमसम्बन्धी पछिल्लो प्रतिवेदनमा आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैबीच श्रीलंकाको नौसेनाले वर्षापछि नदी किनारहरू र गहिरो क्षेत्रका बस्तीमा जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ । कोपुम्बुको बाहिरी इलाकामा रहेको सपनी सापुगास्कान्डा तेल प्रशोधन केन्द्रमा जान हिँडेका इन्धन गाडीहरूलाई बाढीले बगाउनसक्ने भनी यस पहिले चिन्ता व्यक्त गरिएको भएपनि यो खतरा तत्काललाई टरेको छ ।
शनिबार भारी वर्षापछि तेल प्रशोधन केन्द्रमा राखिएको ट्यांकीलाई पानीले बगाउने र यसका कारण जलचरलाई खतरा बढेको बताइएको थियो । प्रतिकूल मौसमका कारण स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रम पनि अवरोध भएको जनाएको छ । स्वास्थ्य सेवाका उपमहानिर्देशक हेमन्था हेराथले स्थानीय सञ्चारमाध्यमलाई बाढी प्रभासवत जिल्लाहरुमा खोप कार्यक्रम स्थगित नभए पनि भारी वर्षाका कारण अधिकारीहरुले शत प्रतिशत काम गर्न नसकेको बताए ।