ढाका ।
कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएकाले बंगलादेशमा लगाइएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशव्यापी लकडाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
लकडाउनलाई अझै कडा बनाउदै लगिने पनि उनीहरुले बताएका छन् । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनुपरेको उनीहरुको भनाइ छ । यसअघि लागू गरिएको लकडाउन सोमबार सकिने भएकाले मंगलबारदेखि लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो ।
बंगलादेशमा कोरोनाभाइरसको महामारी फैलिएपछि लामो समयदेखि लकाडाउन जारी रहेको छ । यसअघि पनि लकडाउनको समयावधि पटक पटक थप गरिएको थियो । अहिले थप गरिएको लकडाउन आगामी जुन १६ को मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
लकडाउनको म्याद थप गर्ने बारेमा सरकारी अधिकारीहरुले सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गरेका थिए । उनीहरूको सुझाव र सिफारिसका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको समयावधि थप गरिएको अधिकारीहरुको भनाइ छ ।
बंलादेशमा अहिले जारी रहेको लकडाउन गत अप्रिल ५ देखि सुरु भएको हो । सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन घोषणा गरिएको थियो । बंगलादेशको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार नौ सय ७० जना नयाँ संक्रमित थपिएका छन ।
सोही अवधिमा थप ३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । बंगलादेशमा अहिलेसम्म कुल आठ लाख १२ हजार नौ सय ६० जना संक्रमित भएका छन् भने कुल १२ हजार आठ सय ६९ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ ।