वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स अर्थात् सेयर कारोबार गर्न अनुुमति दिने वा नदिने भन्नेबारे अझैसम्म पनि ठोस निर्णय हुुनसकेको छैन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एसोसिएसन,, सेयर लगानीकर्ताहरु एवं आम सर्वसाधारणहरु जो नेपालको पुँजीबजारको बारेमा थोरै भए पनि जानकार छन्, उनीहरु वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुुपर्छ भन्ने पक्षमा छन् । तर यहीबीचमा केही ब्रोकर कम्पनीहरु भने वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुुहुँदैन भन्ने पक्षमा रहेको छ । यही पक्ष र विपक्ष कुराहरुको बीचमा सम्बन्धित निकायले अहिलेसम्म पनि वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने वा नदिने भन्ने विषयमा ठोस निर्णय गरिसकेको छैन ।
पुुँजीबजार भनेको लगानीको स्रोत जुुटाउने माध्यम पनि हो । यो माध्यममा सबैको पहुँच सहज हुुनुुपर्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा साना ठूला लगानीकर्ताहरु जो सेयरमा लगानी गर्न चाहन्छन्, उनीहरु यो बजारमा अट्न सक्नुुपर्छ । हालको समयमा भने यो अवस्था छैन । अहिले जति पनि सेयर ब्रोकर कम्पनीहरु रहेका छन् । एकाधबाहेकका सबैजसो कम्पनीहरु राजधानी केन्द्रित रहेका छन् । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ब्रोकर कम्पनीहरुलाई उपत्यकाबाहिरका जिल्लामा पनि शाखा खोल्न निर्देशन दिएको भए पनि त्यो अझै प्रभावकारीरुपमा कार्यान्वयन हुुनसकेको छैन । यो अवस्थामा वाणिज्य बैंकहरुलाई सेयर कारोबारको लागि लाइसेन्स दिनुु अनिवार्य भइसकेको छ । ब्रोकर कम्पनीहरुका तुुलनामा वाणिज्य बैंकहरु सबै सुविधासम्पन्न रहेका छन् जुन सुविधा सेयर कारोबारको लागि आवश्यक पर्छ । अर्कोतर्फ वाणिज्य बैंकहरुको पहुँच हालको अवस्थामा सातवटा प्रदेशका ७७ वटै जिल्ला र उक्त जिल्लाका पनि सबै स्थानीय तहमा पुगिसकेका छन् ।
अहिले २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । मुुलुकभर अहिले सातवटा प्रदेशमा सात ५३ स्थानीय तहरु रहेकोमा सात सय ४१ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेको छ । बाँकी रहेका १२ स्थानीय तहमा पनि छिट्टै नै वाणिज्य बैंकहरुले शाखा पु-याउनेछन् । अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुुवित्त वित्तीय संस्था समेतका गरी देशभर नौ हजार दुुई सय २३ शाखाहरु सञ्चालनमा रहेका छन् । यीमध्ये वाणिज्य बैंकहरुको मात्र सबै क्षेत्रमा गरी तीन हजार नौ सय ३५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यस अर्थमा पनि वाणिज्य बैंकहरुको पहुुँच अहिले देशव्यापी भइसकेको छ । वाणिज्य बैंकहरुको यिनै शाखाहरुमार्फत देशका कुुनाकाप्चाका सबै किसिमका जनतालाई पुँजीबजारमा ल्याउनको लागि पनि वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुुपर्छ । ब्रोकर कम्पनीहरुको हालको पहुँच पूर्वाधारहरुलाई नै आधार मान्दा पनि सबै क्षेत्रका जनताहरुले पुँजीबजारमा सहज पहुँच स्थापित हुुनसक्दैन । यो अवस्थामा ब्रोकर कम्पनीहरुले पनि आफ्नो व्यक्तिगत अथवा भनौँ समूहगत स्वार्थबाट माथि उठेर, केही नाफा केही घाटाबाट माथि उठेर वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरामा सर्वसम्मत हुुनुुपर्छ । कुुनै पनि किसिमको स्वार्थको लागि आम नेपाली नागरिकको पुँजीबजार प्रवेशलाई रोकतोक गर्नुहुँदैन ।