लन्डन ।
द स्कच ह्विस्की उद्योगले अमेरिका र बेलायतबीच भएको कर निलम्बन सम्झौताको स्वागत गरेको छ । लामो समयदेखि एयरबस र बोइङलाई दिइएको सरकारी सहयोगको मुद्दा सम्बोधन गर्दै दुई देशबीच सम्झौता भएको बीबीसीले जनाएको छ ।
योसँगै अब कम्तीमा पाँच वर्ष कर थोपर्ने होडबाजीको अन्त्य भएको छ । यो विवादका कारण स्कच ह्विस्की उद्योगले ६० करोड पाउन्ड स्टर्लिङबराबरको निर्यात गुमाएको अनुमान छ । योसँगै उसले आफ्नो ठूलो बजारमा निर्यात बढाउने बताएको छ । युरोपेली संघले अमेरिकासँग १७ वर्ष लामो एयरक्राफ्ट सब्सिडी विवाद रोक्न सहमत भएको दुई दिनपछि बेलायत र अमेरिकी सम्झौता भएको बताइएको छ ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली ह्विस्कीमा २५ प्रतिशत कर लगाइदिएका थिए । ट्रम्पको कर थपपछि अरु धेरै क्षेत्र प्रभावित भएका थिए । स्कच ह्विस्की एसोसिएसन (एसडब्ल्यूए)का प्रमुख कार्यकारी करिन बेट्सले उक्त सम्झौता स्कच ह्विस्कीका लागि महत्वपूर्ण हुने बताइन् ।
के हो बोइङ–एयरबस विवाद ? अमेरिका र युरोपबीच धेरै वर्षयता युरोपेली र अमेरिकी विमान निर्मातालाई दिने सरकारी सहयोगलाई लिएर विवाद हुाँदै आएको छ । युरोपले एयरबसलाई र अमेरिकाले बोइङलाई अस्वाभाविक रुपमा सहयोग गरेको आरोप प्रत्यारोप चलिरहेको छ । सन् २०१९ मा विश्व व्यापार संगठनले युरोपेली संघले अवैधानिक रुपमा एयरबसलाई सहयोग गरेको ठहर गरेको थियो । सोसँगै अमेरिकालाई युरोपविरुद्ध वार्षिक व्यापारमा साढे सात अर्ब डलरबराबरको कर लगाउन संगठनले बाटो खोलिदिएको थियो ।
त्यसको एक वर्षपछि फेरि संगठनले अमेरिकाले पनि बोइङलाई उस्तै सहयोग गरेको ठहर गर्दै युरोपलाई पनि अमेरिकाविरुद्ध चार अर्ब डलरबराबरको कर लगाउनसक्ने अधिकार दिएको थियो । त्यसयता दुवै पक्षबीच कर थोपर्ने हानथाप चलिरहेको छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको आगमनसँगै दुवै पक्ष समस्या समाधानतिर अग्रसर भएको बताइएको छ ।