काठमाडौं ।
कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैंकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका नौ सय ८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ती उपकरण हस्तान्तरण गरेका थिए । निर्देशक जेर्भोसले अहिलेको असहज अवस्थामा विकासका साझेदारसँग मिलेर नेपाल र नेपालीलाई सघाउन बैंक प्रतिबद्ध रहेको बताए ।
बैंकको कोभिड–१९ आपत्कालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत प्रदान गरिएको रकमबाट परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । उक्त कार्यालयले आगामी छदेखि १५ साताभित्र सातवटै प्रदेशस्थित प्रदेश अस्पतालमा अक्सिजन उत्पादन गर्ने उपकरण जडान एवं सञ्चालन गरिसक्ने बैंकले जनाएको छ ।