कुपण्डोल, ललितपुर ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले समन्वय गरी पत्रकारलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएको छ । शाखाले जिल्ला स्वास्थ्य कार्यालय ललितपुरसँगको समन्वयमा आफ्ना सदस्यलाई आइतबार कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको महासंघका जिल्ला अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।
महामारीको समयमा पनि अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित बनाउन हरसमय खटिने पत्रकारहरुलाई खोप लगाइएको उनको भनाइ छ । जिल्लामा खटिने दुई सय २६ जना पत्रकारले खोप लगाएको उनले बताए । आइतबार एक सय ८३ पुरुष र ४३ महिला गरी कुल दुई सय २६ पत्रकारले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका हुन् ।
अध्यक्ष न्यौपानेले यसका लागि सहयोग गर्ने जिल्ला स्वास्थ्य कार्यालय ललितपुरलाई धन्यवाद दिएका छन् । खोपको दोस्रो डोज समयमै उपलब्धताका लागि पहल गर्ने उनले बताए । ललितपुर महासंघ सबै सदस्य पत्रकारलाई खोप लगाउने पहिलो समेत बनेको छ ।