काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेड र इंगवा जलविद्युत् लिमिटेडबीच अप्पर इंगवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा यही जेष्ठ ३१ मा हस्ताक्षर भएको हो । ९ दशमलव ७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इंगवा जलविद्युत् आयोजनाको अनुमानित खर्च एक अर्ब ९५ करोड रहेको छ । इंगवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहनेछ ।
आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जाबापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इंगवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ । साथै यस कर्जा लगानीपश्चात् यस जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माणकार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपालको ऊर्जा क्षेत्रहरू (सौर्य तथा जलविद्युत्)को विकासको लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रणी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।