बाँके ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भइरहेको निषेधाज्ञामा पीडित उद्योगी व्यवसायीका लागि राहतको माग गर्दै नेपालगञ्जमा मंगलबार प्रदर्शन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार सांकेतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो ।
निषेधाज्ञा चलिरहेको अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यावहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । निरन्तरको लकडाउनका कारण निजी क्षेत्र पलायन हुने अवस्था सिर्जना भएको बताउँदै अध्यक्ष मनसुरीले त्यसलाई उकास्ने कार्यमा ध्यान दिन सरकार साग मााग गरे ।
निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले व्यावसायिक क्षेत्रलाई थप क्रियाशील बनाउनतर्फ कदम चाल्न सरकार लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना संक्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सीमानाका व्यवस्थित गर्नुपर्नेलगायतका माग राखी संघको भवनअगाडि प्लेकार्डसहित सांकेतिक दबाबमूलक कार्यक्रम गरिएको महासचिव चिरञ्जीवी वलीले बताए ।