काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केएफसी देवयानी इन्टरनेसनल नेपाल प्रालि रेष्टुरेन्टलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । रेष्टुरेन्टमा खाजा खान जाँदा आफैँले सर्भिस गरेर खाँदा पनि सर्भिसचार्ज लिएको भन्दै पीडितले नलिन आग्रह गर्दा उल्टै ग्राहकलाई गलहत्याएर निकालेको भन्दै काठमाडौँ जिल्ला प्रशासनमा उजुरी परेपछि काठमाडौँ जिल्ला प्रशासनले कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको हो । काठमाडौँ कोटेश्वर बस्ने राजेश भारती र विष्णु गिरीले दिएको उजुरीमा केएफसीको गोदाममा समेत छापा हान्न अनुरोध गरिएको छ । केएफसी रेष्टुरेन्टको थापाथलीमा गएका ग्राहकहरूले सर्वसाधारणलाई सर्भिसचार्जको नाममा नठग्न आग्रह गर्दा उल्टै धम्की दिएको उजुरीमा उल्लेख गरिएको थियो । केएफसीले सर्भिसचार्जबापत १० प्रतिशत शुल्क लिँदै आएको छ । आफ्नो १२–१३ शाखाबाट दैनिक २० देखि २५ लाख कारोबार गर्दा दुईदेखि दुई लाख ५० हजारसम्म सर्भिसचार्जको नाममा अनाधिकृत रूपमा पैसा असुल्दै आएको छ । यस हिसाबले वार्षिक आठ–नौ करोड केएफसीले ठगी गर्दै आएको छ । यसरी खुलेआम ठगी गर्दा समेत बहुराष्ट्रिय कम्पनी केएफसीलाई कारबाही गर्न राज्य संयन्त्र सफल हुन सकेको छैन ।