काठमाडौं ।
साधना लघुुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाका अनुसार यही असार ११ गते बसेको सञ्चालक समितिको ९५औं बैठकले डा. ढकाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ५८ लाख १८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ९० लाख ९१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७७ करोड ८६ लाख ९९ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब सात करोड २८ लाख ९९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ९५ लाख ८४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ९५ लाख ९७ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत रहेको थियो ।
गत आवको सोही अवधिमा भने संस्थाले ४३ करोड १६ लाख ३८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ५२ लाख ४४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ५० लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ४९ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको थियो ।