काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ । अवकाश कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १० (३) मा भएको व्यवस्थाअनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो । यस प्रयोजनका लागि करिब एक अर्ब तीन करोड रुपैयाँबराबर सहभागीलाई वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिएका छन् ।
यसबाट सहभागीहरूलाई विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पु¥याउनेछ भन्ने विश्वास कोषले लिएको पाइएको छ । उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरूको खातामा जम्मा गरिएको छ । कोषले यस कार्यक्रममा ब्याजदरको अतिरिक्त थप प्रतिफल निरन्तररूपमा दिने नीति लिएको छ । साथै, नागरिक लगानी कोषबाट सञ्चालित अन्य कार्यक्रमहरूमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ ।