ढाका । कालोधन बटुलेर बसेका मानिसहरुलाई बंगलादेशमा सेतो बनाउने अर्थात् अवैधलाई वैध बनाउने एउटा अवसर मिलेको छ । आफ्नो आयस्रोत नखुलाउने धनीमानीलाई सेयरमा लगानी गर्न दिएर कालोधन सेतो बनाउन दिने विधेयक बंगलादेशी संसदले पारित गरेको हो । यसको नाम द फाइनान्स एक्ट २०२१ दिइएको छ ।
तर यस्तो लगानीमा लिइने कर दर भने १० प्रतिशतबाट २५ प्रतिशत पु-याइएको डेलिस्टार अनलाइनले जनाएको छ । यस्तो कर सेयरबजारमा लगानी गरेको ३० दिनभित्र सरकारलाई बुझाउनुपर्नेछ । त्यसरी लगानी गर्दा सम्बन्धित व्यक्तिलाई सम्पत्ति स्रोतबारे कुनै प्रश्न नगरिने भएको छ । यस्तो व्यवस्था जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म तोकिएको छ । यसरी कालोधनलाई सेतो बनाउनेले २५ प्रतिशत करको पाँच प्रतिशत जरिवानास्वरुप भुक्तानी गर्नुपर्नेछ । सन् २०२०/०२१ मा यस्तैखाले लगानीमार्फत दुई अर्ब ८२ करोड टाका सेतो बनाइएको थियो । यस्ता लगानीकर्ताले १० प्रतिशत कर तिरेका थिए भने सरकारले २८ करोड टाका करबापत संकलन गरेको थियो ।
अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड–१९ खोपको विज्ञापन अभियान गर्न सरकार आग्रह : अष्ट्रेलियाका चिकित्सकहरूले कोरोनाभाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाब दिएका छन् । रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसीजीपी) ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना खोप कार्यक्रमबारे सचेतना जगाउन विज्ञापन अनिवार्य र महत्वपूर्ण रहेको बताएको हो । ‘पक्कै पनि आफ्नो दोस्रो मात्राको खोपबारेमा चासो व्यक्त गरिरहेका छन् र स्वीकार गर्ने वा अस्वीकार गर्ने बहस नागरिकबीच हुनु वास्तविक चिन्ताको विषय हो ।
नागरिकमा खोपबारे जानकारी कम हुनसक्छ । विज्ञको सुझावलाई सचेतनामूलक कार्यक्रमबाट उनीहरूसमक्ष पु¥याउनु जरूरी देखिन्छ’, आरएसीजीपीका अध्यक्ष करेन प्राइसले नाइन इन्टरटेन्मेन्ट समाचार संस्थासँग भने, ‘मलाई लाग्छ हामीलाई महामारीले थकाएको छ । हामीले भ्रमलाई सम्बोधन गरेर अघि बढेनौँ भने यसबाट जोखिम निम्तिन सक्छ ।’
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति एस्ट्रजेनेकाको कोभिड–१९ विरूद्धको खोेप लिन चाहने ४० वर्षमाथिका नागरिकहरुले नाम दर्ता गराउन आग्रह गरेका थिए । यसपहिले अष्ट्रेलियामा ६० वर्षमाथिका नागरिकलाई अस्ट्राजेनेकाद्वारा विकसित खोप लगाउन सिफारिस गरिएको थियो । प्रधानमन्त्रीको पछिल्लो आग्रहले अस्ट्रेलियाले ४० वर्षमाथिका नागरिकलाई उक्त खोप दिने तयारी थालेको बुझ्न सकिन्छ ।
‘यदि हामी अभियान अगाडि बढ्नुअघि आपूर्ति बढ्ने प्रतीक्षा गर्छौँ भने यसबीचमा धेरै मानिसहरूलाई खोपबारेको भ्रमलाई चिर्न अनिवार्य हुन्छ’, उनले भनेका छन् । अस्ट्राजेनेकाको खोप प्रयोग गर्दा रगत जम्ने सूचनाहरू आएपछि अस्ट्रेलियाली नागरिकले खोप लिने वा नलिने भन्नेमा बहस चलाएका छन् । रगत जम्ने भनी समाचार आएपनि विरलै मुद्दाहरूमा खोपको विकृति पाइएपछिसंघीय, राज्य र क्षेत्रीय नेताहरूले सोमबार यो खोपबाट आउने समस्यामा क्षतिपूर्ति दिन सहमत भएका हुन् ।
स्वास्थ्य विभागका प्रवक्ताले भने जनचेतना अभियान निरन्तर चलिरहेको जानकारी दिएका छन् । सोमबार दिउँसो प्राप्त तथ्यांकअनुसार अस्ट्रेलियामा कोभिड–१९ बाट संक्रमितको संख्या ३० हजार पाँच सय २८ रहेको छ भने उक्त अवधिमा स्वदेश तथा विदेशबाट आएका क्रमशः २३ र छ व्यक्तिमा नयाँ संक्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।