काठमाडौं ।
प्रहरीले इटाली पठाइदिने भनी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । रेग्मीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवारलगायत तीन जनालाई वर्किङ भिषामा इटाली पठाइदिने भन्दै जनही १० लाख ५० हजार रूपैयाँको दरले ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेका थिए । उनीहरूसँग ठूलो रकम लिएर रेग्मीले पीडितलाई अजरबैजानसम्म पु-याएर बिचल्ली बनाएर फरार रहेका थिए ।
रेग्मीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो । रेग्मीले यसअघि पनि विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब एक करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।