काठमाडौं ।
खाद्य पदार्थको उत्पादन बढाउन व्यवसायीकरण, यान्त्रीकीकरण, भण्डारण र बजार व्यवस्थापन गरिनुपर्नेमा सम्बन्धित विज्ञहरूले जोड दिएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघले राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरेको वेबिनारमा उनीहरूले कृषि क्षेत्रमा संलग्न जनशक्तिको अधिकतम उपयोगका लागि सीप विकास, सहज लगानीका लागि ऋण र अनुदान व्यवस्था गर्न सकिएमा खाद्य उत्पादन वृद्धि हुनुका साथै किसानको जीवनस्तर अभिवृद्धि हुन सक्ने बताए ।
रासायनिक मलको निर्भरतालाई कम गर्न र दिगो उत्पादकत्व बढाउन भान्छाबाट निस्कने फोहरमैला र वायोग्यास प्लान्टबाट निस्कने जैविक मललाई प्रयोग गर्न सकिने र सिँचाइ सुविधा पुग्न नसकेका ठाउँमा सौर्य पम्पबाट सिँचाइ गरी उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रविधि निकै उपयोगी हुने उनीहरूको भनाइ छ । उत्पादनपछिका कृषिजन्य वस्तुको प्रशोधन, सुकाउन र भण्डार गर्न लघु जलविद्युत्, सौर्य मिनिग्रिड, वायु ऊर्जा, सौर्य पीभी, सोलार थर्मलजस्ता नेपालका ग्रामीण बस्तीमा सहज उपलब्ध हुने प्रविधिलाई राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उनीहरूले जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले कृषि र कृषकको विकासको लागि प्रविधि र सामग्री सहजरूपमा उपलब्ध गराउन, क्षमता अभिवृद्धि गर्न र लगानी सुलभ तुल्याउन आवश्यक रहेको बताए ।
परिसंघका अध्यक्ष गुणराज ढकालको सभापतित्वमा भएको सो अन्तरक्रियामा कृषिविज्ञ डा. सुधा सापकोटा, ऊर्जाविज्ञ डा. इन्दिरा शाक्य, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. सुनिल लोहनी, केन्द्रका सहायक निर्देशक मुकेश घिमिरे, नेपाल वायोग्यास प्रवद्र्धन संघका अध्यक्ष प्रकाशचन्द्र सुवेदी र नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष इन्द्र खनालले नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट कृषि क्षेत्रमा ल्याउन सकिने सुधारका बारेमा आफ्ना धारणा राखेका थिए ।