काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताएका छन् । त्यसको लागि सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढंगले अघि बढाएको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारणलाइन तथा सबस्टेसनको शनिबार भर्चुअल उद्घाटन गर्दै उनले पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारणलाइन नहुने, लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सब–लाइनहरु नहुनेजस्ता कमजोरी रहेको र अब त्यस्ता समस्या समाधानमा सरकार गम्भीर भएर लागेको बताए । नेपालले करिब एक सय १० वर्षअघि ऊर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत् उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको उनको भनाइ थियो ।
पछिल्लो समय कुलेखानी जलविद्युत् आयोजनाले देखाएको बाटोअनुरुप हालका वर्षहरुमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए । हाम्रो बहुआयामिक विकासको सन्दर्भमा समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारणलाइन पनि नयाँ उचाइ भएको उनले दाबी गरे । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा भएको उनको भनाइ थियो ।
समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारणलाइन दुप्चेश्वर गाउँपालिकामा रहेको समुन्द्रटार सबस्टेसनदेखि किस्पाङ गाउँपालिकामा रहेको त्रिशूली ३ बी हब सबस्टेसन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ । कुल २६ किमि लामो १३२ केभी डबल सर्किटको यो प्रसारणलाइनबाट समुन्द्रटार सबस्टेसनलाई काठमाडौं उपत्यकाको मातातीर्थ सबस्टेसनमा मात्र नभई अन्य सबस्टेसनसँग समेत जोड्ने योजना रहेको जानकारी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिए । उनका अनुसार प्रसारणलाइनबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशूली ३ बी हब सबस्टेसनमा प्राप्त हुने छ सय मेगावाटभन्दा बढी विद्युत्लाई सिधै काठमाडौं ल्याउन ठूलो मद्दत पुग्नेछ ।
‘कोभिडविरुद्धको खोपबाट कोही वञ्चित हुनेछैनन्’ प्रसारणलाइन तथा सबस्टेसनको उद्घाटनकै क्रममा प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको खोप लगाउनबाट कोही पनि वञ्चित नहुने बताए । कोभिडविरुद्धको थप भ्याक्सिन आउने र त्यसबाट वञ्चित हुनुपर्ने अवस्थाबाट देशमुक्त हुने उनको दाबी थियो । ‘कोभिडसँग लड्नुुुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदै छौँ’, उनले भने ।
यद्यपि सबैलाई एकैपटक खोप सम्भव नहुने भन्दै उनले समूहगत रुपमा क्रमशः सबै जनतालाई खोप लगाइने बताए । यतिबेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण क्षति भोग्नुपरेको पनि उल्लेख गर्दै उनले उद्धार, राहत र पुनर्स्थापनामा सरकारले ध्यान दिइरहेको समेत बताए । राहतका लागि सम्बद्ध स्थानमा रकम गइसकेको र घाइतेको उपचार पनि सरकारले नै गर्ने उनले जानकारी दिए ।