काठमाडौं ।
ज्योति विकास बैंकले एक अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । बैंकले असार २० गते अर्थात् आज आइतबारबाट एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने एक अर्ब ५० करोड करोड रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र निष्काशन खुल्ला गरेको हो । बैंकले निष्काशनको निमित्त एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।
वार्षिक नौ प्रतिशतका ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो । एक अर्ब ५० करोड रुपैयाँमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड र व्यक्तिगत, विभिन्न संघ÷संस्थाहरुका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।
लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।