काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालीनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका हुुन् ।
उक्त सम्झौतापश्चात् शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो पशुपन्छी तथा बालीनालीको बीमा ढुक्कसँग आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्नेछन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालीनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिबद्धतासहित काठमाडौं जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।
सोही अवसरमा नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफ्ना नगरावासी कृषक दाजुभाइ तथा दिदी बहिनीहरुको पशुपन्छी, बालीनालीको बीमापश्चात् कुनै कृषक दाजुभाइ तथा दिदीबहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानिनोक्सानी भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तिको बीमा गरी ढुक्क भएर पशुपन्छी पालनलगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे । साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालिकाले आफ्ना नगरवासीलगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने आफ्ना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भूमिका निर्वाह गरी सह्राहनीय कार्य गरेमा नगर प्रमुख सुवर्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेलगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आह्वान गरेको छ ।