काठमाडौं ।
काठमाडौं उपत्यकामा केही निश्चित व्यवसायबाहेक अधिकांश व्यवसाय सोमबार राति १२ बजेपछि खुला गर्न पाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै केही व्यवसायमा भने असार ३१ गते रातिसम्मका लागि निषेधाज्ञ जारी नै राखेको छ ।
प्रशासनको आइतबारको निर्णयअनुसार काठमाडौं उपत्यकाभित्र सवारीसाधन सञ्चालनमा जोरविजोर प्रणाली पूर्णतः हटाइएको छ भने सबै सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ । काठमाडौं उपत्यका प्रवेशमा पनि केही सहज गरिएको छ ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम र लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनहरू प्रवेश गर्न पाउनेछ । सार्वजनिक तथा निजी निर्माणकार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
प्रशासनले धेरै मानिसको भीडभाड हुने काठमाडौं उपत्यकाभित्रका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र भने अझै अनिश्चितकालसम्मको लागि बन्द नै राखेको छ । कोभिड–१९ विरुद्धको भ्याक्सिन सहज नभएसम्म ती क्षेत्र नखोल्ने बताइएको छ ।
सरकारले यही असार २४ गतेबाट चीनसँग खरिद गरेको ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउन लागेको छ । केही निश्चित क्षेत्रमा उमेर हदबन्दी नलगाई खोप दिने भएपछि अहिले नखोलिएका व्यवसायहरू अर्को सातापछि खोल्न सकिने अनुमान स्थानीय प्रशासनले गरेको छ । तर, त्यसका लागि भ्याक्सिन कसरी लगाउने भन्ने बारेमा निर्णयमा भर पर्नेछ ।
स्थानीय प्रशासनले विद्यालय, कलेजको साथै सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिनियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पनि स्थानीय प्रशासनले रोक नै लगाएको छ । त्यस्तै सबै प्रकारका सभा, सम्मेलन गर्न पनि रोक लगाइएको छ ।
यद्यपि विभिन्न राजनीतिक दलहरूले त्यसको उल्लंघन केही दिन अगाडिदेखि नै गर्दै जुलुसहरू निकालिरहेका छन् । खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न÷गराउन पनि अझै रोक लगाइएको छ ।
पुजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पनि रोक लगाइएको छ भने विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न/गराउन पाइनेछैन । काठमाडौं उपत्यकाभित्र हुने स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ । पसललगायतका अन्य व्यवसाय भने साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
स्थानीय प्रशासनले उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्ने जनाएको छ । उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनले कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउनेछैन । सबै यात्रुहरूले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ भने मास्क नलगाउने यात्रुलाई सवारीसाधन प्रवेशमा रोक लगाउनुपर्नेछ । चालक र सहचालकले अनिवार्य रुपमा मास्क, भाइजर र पन्जा लगाउनुपर्नेछ । सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ भने सवारीसाधन पनि दैनिक निस्संक्रमित गर्नुपर्नेछ ।
विभिन्न निकायबाट पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरू निश्चित शर्त पालना गरेर मात्र सञ्चालन गर्न पाइनेछ । स्थानीय प्रशासनका अनुसार परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५ जनाभन्दा बढी राख्न पाइनेछैन । २५ जनाभन्दा बढी भएमा सिफ्टअनुसार परीक्षा सञ्चालन
गर्नुपर्नेछ ।
महामारीमा भित्रिए ३८० विदेशी कामदार : पछिल्लो समय नेपालमा विदेशी श्रमिक आउने क्रमले निरन्तरता पाएको छ । पछिल्लो छ महिनाको अवधि (वैशाखबाहेक)मा तीन सय ८० जना विदेशी प्राविधिक तथा श्रमिक नेपाल भित्रिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष कोभिड १९ महामारीका बीच सरकारले उत्पादनशील उद्योगका लािग आवश्यक विदेशी श्रमिक ल्याउन दिने निर्णय गरेसँगै विदेशी श्रमिक नेपाल आउनको लागि सहज भएको मन्त्रालयले जनाएको छ ।
गत कात्तिकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड १९ को महामारीका बीच उत्पादनशील उद्योगका लागि आवश्यक विदेशी श्रमिक ल्याउन दिनको लागि गरेको प्रस्तावमा सरकार सकारात्मक भएको थियो । कोभिडका महामारीका बीच विदेशी कामदार नेपाल ल्याउनको लागि मन्त्रालयले ‘विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७’ स्वीकृत गरेको थियो ।
गत कात्तिकदेखि जेठसम्मको अवधिमा श्रम स्वीकृति लिने विदेशी कामदारको संख्या तीन सय ८० जना र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या चार सय १७ जना रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ । कोभिड १९ को कारण सरकारले वैशाख तेस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्दा विदेशी कामदार नेपाल आउन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकका विभिन्न आयोजनास्थलमा भारत, चीन, थाइल्यान्डलगायतका मुलुकबाट सुरक्षित रुपमा विदेशी प्राविधिक तथा कामदार ल्याउनुपर्ने थियो । माथिल्लो तामाकोशी, पोखरा विमानस्थल, काठमाडौं तराई द्रुतमार्गलगायतका आयोजनाहरूमा भारत, चीन लगायतका मुलुकबाट प्राविधिक आउनुपर्ने थियो जसले गर्दा सरकारले कार्यविधि बनाई अघि बढ्ने निर्णय गरेको थियो । यसैबीच वैशाखमा माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक चिनियाँ प्राविधिक नेपाल आएका थिए । उनीहरू नेपाल आएसँगै १४ महिनापछि आयोजनाको प्राविधिक काम अघि बढेको थियो ।
महामारीका कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिकको अभाव भएकोले उपभोग्य वस्तुहरूको उत्पादन र आपूर्तिलाई सहज बनाउन भारत, चीनलगायत अन्य मुलुकबाट सुरक्षित रुपमा विदेशी श्रमिक ल्याउने प्रक्रियालाई सरल र व्यवस्थित बनाउन आवश्यक भएकोले मन्त्रिपरिषद्को निर्णयबमोजिम मन्त्रालयले उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७ बनाई कार्यान्वयनमा ल्याएको थियो । कार्यविधिअनुरुप विदेशी श्रमिकलाई अनुमति दिने निकाय भने संघीय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रहेको जिल्लामा सो कार्यालय र सो कार्यालय नरहेको जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिने व्यवस्था गरेको थियो ।
कार्यविधिअनुरुप नेपालमा रहँदा उनीहरूले कोभिड संक्रमण जोखिम हुन नदिन सरकारले तोकेको सुरक्षा प्रोटोकल पूर्ण परिपालना सम्बन्धित उद्योगले गर्नु गराउनुपर्नेछ । उत्पादनशील उद्योग अर्थात् वस्तु उत्पादन गर्ने उद्योग सम्झिनुपर्छ तथा मुनाफा आर्जन गर्ने वा मुनाफा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना, संस्थापना, दर्ता वा गठन भएको वा सञ्चालनमा रहेको उत्पादनशील उद्योग भनी वर्गीकरणमा परेका कुनै कम्पनी, प्राइभेट फर्म, साझेदारी फर्म, सहकारी संस्थालाई समेत जनाउँछ ।
उत्पादनशील उद्योगले आफूलाई आवश्यक पर्ने श्रमिक पूर्ति गर्दा नेपाली नागरिकलाई भने प्राथमिकता दिनुपर्नेछ भने यदि मुलुकभित्र त्यस्ता श्रमिक उपलब्ध नभएको अवस्थामा आवश्यक रीत पु¥याई विदेशाट श्रमिक ल्याउन सक्ने विषय कार्यविधिमा उल्लेख गर्नुको साथै विदेशी श्रमिक ल्याउँदा श्रम स्वीकृति अनिवार्य गर्नुको साथै त्यसको सहजीकरण गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।
त्यसैगरी उत्पादनशील उद्योगमा विदेशी श्रमिक ल्याउन अनुमति दिने प्रक्रियाको अनुगमन मन्त्रालयले गर्नेछ भने स्वास्थ्य सुरक्षा नअपनाएमा भने संक्रामक रोग ऐन, २०२० र अन्य प्रचलित कानुनबमोजिम कारबाहीका लागि अनुगमनकर्ताले अनुमति दिने निकायमा लेखी पठाउनुपर्नेछ भने कार्यविधि कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा मन्त्रालयले त्यस्तो बाधा अड्काउ फुकाउनसक्ने बताइएको थियो । (आर्थिक दैनिकबाट)