काठमाडौं ।
मिति नाघिसकेका डेबिट कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटीएमबाट ३४ लाख रुपैयाँ चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार ‘डेट एक्सपायर’ डेबिट कार्ड प्रयोग गरी रकम निकालेको आधारमा सोलुखुम्बु घर भई भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने ३० वर्षीया सावित्री गुरुङ पक्राउ परेका हुुन् ।
उनीहरूले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटीएम मेसिनबाट म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी पैसा निकालेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए । सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट विशेष टोली परिचालन गरी खोजी गर्दा उनीहरूले चोरीको केही रकमसहित पक्राउ गर्न सफल भएको उनले जानकारी दिए ।
उनीहरूको साथबाट २१ लाख रुपैयाँ बरामद भएको उनले बताए । प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिहरूले लोयड्स भिस डेबिट कार्ड लण्डन (डेट एक्सपाइर भएको) कार्डबाट चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनीमा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको खुुलेको छ । उक्त रकममध्ये १० लाख ५० हजार रुपैयाँ सहकारीमा राखिएको समेत अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका ती व्यक्तिहरूउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।