विराटनगर ।
प्रदेश १ को राजधानी विराटनगरको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीहरूले भारतबाट भन्सार मूल्यांकन नै कम गरी एमआरपी समेत उल्लेख नभएको स्यानिटरी प्याड नेपाल भित्र्याउन थालेको पाइएको छ । कोभिडको त्रासबाट विस्तारै लयमा फर्कन थालेको व्यवसायलाई यहाँका केही उद्योगी तथा व्यवसायीले अवैध कारोबारलाई प्रश्रय दिन थालेका छन् ।
आर्थिक वर्ष ०७७/०७८ को अन्तिम महिना लागेपछि यहाँका उद्योगी तथा व्यवसायीहरूले भारतमा निर्मित स्यानिटरी प्याडको आयात गरी धमाधम स्थानीय निकायहरूमा सप्लाइ बढाएका छन् । सरकारले स्थानीय निकायहरूबाट स्यानिटरी प्याड खरिद गरी निःशुल्क वितरण गर्न ठूलो मात्रामा बजेट विनियोजन गरेपछि उनीहरूले न्यून मूल्य कायम गरी भारतमा निर्मित स्यानिटरी प्याडको आयात बढाएका हुन् । आफूलाई विराटनगरको प्रतिष्ठित उद्योगी भन्न रुचाउने विशाल ग्रुपको युनाइटेन्ड डिस्ट्रिब्युटरदेखि सारडा समूहको जस्मीन हाइजीन उद्योगले समेत स्यानिटरी प्याड विराटनगर र वीरगञ्ज भन्सार नाका हुँदै न्यून मूल्य कायम गरी आयात गरेका छन् ।
विशाल ग्रुपले एमआरपी समेत उल्लेख नभएको विचपर ब्राण्डको तयारी स्यानिटरी प्याड आयात गरिरहेको छ भने सारडा समूहले जस्मीन हाइजीन उद्योगका नाममा तयारी स्यानिटरी प्याड नै भन्सारमा न्यून मूल्यांकन गरी आयात गरिरहेको छ । यसरी उद्योगी तथा सप्लायर्सले कमाउने अभियान नै चलाएपछि सरकारी निकायमा समेत कमसल गुणस्तरको स्यानिटरी प्याड सप्लाईको होडवाजी चल्न थालेको छ ।
विशाल ग्रुपको युनाइटेन्ड डिस्ट्रिब्युटर नामको ट्रेडिङ फर्मले भन्सार जाँचपासमा कच्चापदार्थ वा तयारी स्यानिटरी प्याड के हो भन्ने कुरा समेत उल्लेख नगरेर एमआरपी पनि नराखी धमाधम विचफर ब्राण्डको स्यानिटरी प्याड आयात गर्नेगरेको रहस्य सार्वजनिक भएपछि सारडा समूहको जस्मीन हाइजीन उद्योगले पनि तयारी स्यानिटरी प्याड आयातमा व्यावसायिक झेल गरेको रहस्य सार्वजनिक भएको हो ।
विशाल ग्रुपको युनाइटेण्ड डिस्ट्रिब्युटरकै सिको गर्दै सारडा समूहले समेत उद्योगलाई आवश्यक कच्चापदार्थको सुविधा भन्दै सुविधाको दुरूपयोग गर्न थालेको रहस्य खुलेको हो । युनाइटेड डिस्ट्रिब्युटरले आयात गरेको विचफर ब्राण्डको स्यानिटरी प्याड आयात भइसकेपछि बजार पठाउनुपूर्व आयातकर्ता विशाल ग्रुपले प्याकेटमा माथिबाट आफैँ एमआरपी स्टाम समेत लगाएर बिक्रीवितरणका लागि पठाउने गरेको छ ।
सरकारले सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित कार्यक्रममा स्यानिटरी प्याड खरिदमा ठूलो रकम विनियोजन गरेसँगै पछिल्लो समय व्यवसायीहरूले भारत र चीनबाट तयारी गरिएका स्यानिटरी प्याड भित्र्याउने गरेका छन् ।
तयारी सामग्रीलाई कच्चापदार्थ देखाउँदा फाइदा हुने भएपछि उद्योगीले पछिल्लो समय उत्पादनभन्दा पनि आयातलाई नै प्राथमिकता दिएर आयात गरिरहेको स्रोतको दाबी छ । विशाल ग्रुपले दर्ता कायम गरेको ट्रेडिङ फर्म युनाइटेड डिस्ट्रिब्युटर र सारडा समूहको जस्मिन हाइजिन प्रोडक्टले अपेक्षा गरेको भन्दा बढी नै स्यानिटरी प्याडको आयात गरिसकेको दाबी स्रोतले गरेको छ ।