काठमाडौं ।
सप्तरीको राजविराजमा बन्नलागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्चअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा उनले थुपै ऐतिहासिक महत्व बोकेको सप्तरी अबउप्रान्त पछाडि परेको जिल्लाका रूपमा नरहने बताए । प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजनामध्ये सर्वाधिक ठूलो परियोजना बन्ने उनको भनाइ थियो । प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र हुने उनले बताए ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पूर्व–पश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने उनले दाबी गरे । प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आ–आफ्ना हुने भए पनि एक अर्काप्रति सहिष्णु हुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताए ।
सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोसी मारिन डाइभर्सनले सिँचाइको सुविधा पु-याउने उनको भनाइ थियो । सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न पनि उनले आग्रह गरे । ‘हामीबीचमा रहेका विविधता सम्पत्ति भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय बनाउन हुँदैन’, उनले भने, ‘सबै थरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तव्य हो ।’ यस्तै उनले देशभित्र रोजगारीका अवसरहरू सिर्जना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नतर्फ लाग्ने उनले बताए । सप्तरीको राजविराजमा बन्नलागेको प्रतिष्ठानबाट सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।