दोलखा ।
दोलखा सदरमुकाम चरीकोटमा दुई दिनदेखि इन्टरनेट र टेलिफोन अवरुद्ध भएको छ । भीमेश्वर नगरपालिकाले निर्माण गरिरहेको सातदोबाटो बहुउद्देश्यीय भवनको भित्तामा सोमबार साँझ झरेको पहिरोको कारण इन्टरनेट र टेलिफोन अवरुद्ध भएको हो ।
नगरपालिका र भवन निर्माण कम्पनीको लापरबाहीले लामो समयदेखि भवनमाथि सातदोबाटो चोकको छेउमा चिरा परेर बसेको ठाउँबाट पहिरो गएको हो । पहिरोले इन्टरनेटको क्याबिनेट बक्समा क्षति गर्दा दुई दिनदेखि बजारको टेलिफोन लाइन अवरुद्ध बनेको नेपाल टेलिकम दोलखाका प्राविधिक राजेन्द्र ढुंगानाले जानकारी दिए । पहिरोले टेलिफोनको लाइन, इन्टरनेट लाइन अक्टिकल फाइबरको केवल सबैलाई असर पु-याएको छ भने एक प्रतीक्षालय भत्काएको छ ।
नगरपालिका र भवन निर्माण कम्पनीले भवनको भित्तामा वाल लगाउन ध्यान नदिँदा साधारण पहिरो खस्दा पनि लाखौंको क्षति भएको हो । दुई दिनदेखि अवरुद्ध इन्टरनेट र टेलिफोनको लाइन मर्मत गर्न अझै दुई दिन लाग्ने नेपाल टेलिकम दोलखाले जनाएको छ ।