काठमाडौं ।
सेन्ट जेभियर्स स्कुुल जावलाखेलमा विद्यार्थी भर्नाको छनौट प्रक्रियामा अनियमितता भएको आरोप लागेको छ । प्रक्रिया पूरा गरेर नियमसंगतरुपमा भर्ना प्रक्रियामा सामेल भए पनि छनौट समितिले भर्ना छनौट प्रक्रियामा सामेल हुनको लागि आवेदन दिएका भन्दा पनि आवेदन नै नदिएका विद्यार्थीहरुलाई भर्नामा छनौट गरी अनियमितता गरेको आरोप पीडित अभिभावकहरुले लगाएका हुन् ।
स्कुलले २०७८ जेठ ३१ गतेदेखि असार २ गतेसम्म अनलाइनमार्फत भर्ना छनौटको लागि आवेदन माग गरेको थियो । ‘उक्त मागबमोजिम हामीले आफ्नो छोराछोरीको विवरणसहित आवेदन दियौँ तर भर्ना छनौटमा त धेरै अनियमितता हुुँदो रहेछ । आवेदन दिएका भन्दा आवेदन नै नदिएका विद्यार्थीहरुलाई भर्नामा छनौट गरेको देखियो’, पीडित अभिभावकहरुले नाम उल्लेख नगर्ने शर्तमा भनेका छन् ।
भर्ना छनौटको लागि स्कुलले जेठ ३१ गतेदेखि असार २ गतेसम्म अनलाइनमार्फत आवेदन आह्वान गरेको थियो । ‘उक्त आह्वानअनुसार जम्मा चार हजार दुई सय ५६ जनाले भर्ना छनौटमा सहभागी हुनको लागि आवेदन दिएका थिए, जसको रेकर्ड उक्त स्कुलको आधिकारिक वेबसाइटमा पनि रहेको छ’, पीडित अभिभावकले आर्थिक दैनिकको कार्यालमा नै आएर भने, ‘तर मेरिट लिस्टमा (गोला प्रथामा छानिने भनिएका विद्यार्थीहरुको) छानिएका विद्यार्थीहरुको लिस्टमा चार हजार दुई सय ५६ भन्दा माथिका विद्यार्थिहरुको समेत उल्लेख गरिएको देखियो, आवेदन नै नदिएका ती विद्यार्थीहरु कसरी आए, यो अनियमितता नभए के हो त ?’ चार हजार दुुई सय ५६ भन्दा माथि आवेदन नै नदिएका विद्यार्थीहरु कसरी छनौट गरियो भन्ने उनीहरुको प्रश्न छ ।
ती अभिभावकका अनुसार आरक्षण कोटामा विद्यार्थी छनौट गरिसकिएपछि कुन कोटामा कुन विद्यार्थी भनी स्पष्ट उल्लेख नभएको देखिएको छ । सेन्ट जेभियर्स स्कुुलले विद्यार्थी भर्नाको छनौट प्रक्रियामा गरेको अनियमितताको बारेमा स्कुलले सार्वजनिक गरेको आवेदकको संख्याको आधिकारिक सूचना, सार्वजनिक गरेको विद्यार्थी लिस्टमा चार हजार दुई सय ५६ जनाको परीक्षा सञ्चालनको मिति र समय र मेरिट लिस्टमा आवेदन नै नदिएका विद्यार्थीहरुको नाम र रोल नम्बरसहितको नामावलीबाट पनि प्रष्ट हुने पीडित अभिभावकले बताएका छन् ।
सो विषयमा सेन्ट जेभियर्स स्कुुल जावलखेलको सम्पर्क नम्बर ५५२१०५० मा सम्पर्क गर्दा भर्नाको लागि छुुट्टै कमिटी रहेको र सोही कमिटीले नै भर्नाको छनौट गर्ने गरेको जानकारी प्राप्त भयो । भर्ना छनौटको लागि जम्मा आवेदको संख्या चार हजार दुई सय ५६ रहेकोमा त्योभन्दा माथिको संख्यामा कसरी भर्नाको छनौट भए भन्ने प्रश्नमा उक्त विद्यालयमा कार्यरत कर्मचारीले लक्की ड्र गर्दा यस्तो हुुन गएको बताए । तपाईंहरुले लक्की ड्र गर्दा आवेदन नै नदिएका विद्यार्थीहरुबाट लक्की ड्र गराएको हो भनी प्रश्न गर्दा यसबारे आफूलाई जानकारी नभएको, अहिले धेरै सरहरु कोही मिटिङमा र कोही विदामा भएका कारण भोलि बिहान १० बजेतिर सम्पर्क गर्न आग्रह गरे ।