काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही असार २४ गते अर्थात् आज शुक्रबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम तीन हजार दुई सय ५० कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुुट्याइएको छ । अधिकृत पुँजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ । कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।