सोल ।
प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो त्रैमासिक मुनाफामा भारी वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ । विश्वमा चिप संकट देखिरहेका बेला कम्पनीको त्रैमासिक मुनाफा ५३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको हो ।
विश्वकै ठूलो मेमोरी चिप तथा स्मार्टफोन निर्माता कम्पनी सामसङले जुनको अन्तिमसम्मको त्रैमासिक सञ्चालन नाफा ११ अर्ब डलर हुने अनुमान गरेको छ । पछिल्लो समय मेमोरी चिपको माग बलियो रहेको छ । एक वर्षअघि अर्थात् कोरोना महामारीको पहिलो केही महिना सामसङको टिभी र फोनको बिक्री घटेको थियो ।
त्यसयता भने इलेक्ट्रोनिक वस्तुको माग ह्वात्तै बढिरहेको छ । खासगरी मानिसहरु अनलाइन जीवनशैलीमा बढी घुलमिल हुँदा कम्पनीलाई फाइदा पुगेको छ । कम्पनीको यस्तो पूर्वानुमानले विश्लेषकको अनुमानलाई पनि पपछि पारेको छ । यदि कम्पनीले भनेकै अनुसार नाफा भए यो सन् २०१८ को त्रैमासिक नाफापछि दोस्रो ठूलो हुनेछ ।
विगत केही महिना खासगरी कम्प्युटर चिप उत्पादकहरुले जति पनि मूल्यवृद्धि बढाउने अवस्था सिर्जना भएको थियो । मार्च महिनामा सामसङका सहप्रमुख कार्यकारी तथा मोबाइल प्रमुख को डोंग जिनले सेयरसदस्यलाई चिप र आईटी क्षेत्रको माग र आपूर्तिमा गम्भीर असन्तुलन भएको बताएका थिए ।
उनले त्यतिबेला माग भेट्न विश्वका अन्य साझेदारसँग मिलेर काम गरिरहेको बताएका थिए । विश्वमा चिप संकट हुँदा कार उद्योगमा नराम्रो प्रभाव परेको थियो । त्यसले मुख्य सवारीसाधन निर्मातालाई उत्पादन कटौती गर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्याएको थियो ।
बितेका महिनामा अटोब्रान्डहरु फोर्ड, जनरल मोटर्स (जीएम), फक्सवागन र जागुआर ल्यान्ड रोभर सबैले प्रडक्सन लाइनहरु निलम्बन गरेका थिए । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपेली आयुक्त मार्गरेट भेस्टेगरले युरोप र अमेरिकामा धेरै चिप उत्पादन गर्ने योजना सार्वजनिक गरेका थिए ।