केप टाउन ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानि गरेको अभियोगमा उनलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ ।
स्थानीय समयअनुसार बुधवार अबेर उनी आफ्नो निवासनजिकै रहेको जेल पुगेको उनीनिकटका अधिकारीहरुले जानकारी दिएका छन । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् ।
सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ वर्षीय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन् । उनी आफैँ आत्मसमर्पणका लागि गएको विषयलाइ उनका समर्थकहरुले इमानदारितापूर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन् ।
उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जाँदै गरेको र उनको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेकी छिन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् ।