काठमाडौं ।
सहरा विकास बैंकले लाभांश वितरणको घोषणा गरेको छ । बैंकको यही असार २२ गते मंगलबार बसेको सञ्चालक समितिको एक सय ८२औँ बैठकले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को सञ्चित मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजी २७ करोड २२ लाख ७० हजार छ सय चार रुपैयाँमध्येबाट पाँच दशमलव पाँच प्रतिशत अर्थात् एक करोड ३७ लाख ४९ हजार छ सय ६५ रुपैयाँबराबरको बोनस सेयर र शून्य दशमलव २७ प्रतिशतले हुनआउने सात लाख २३ हजार छ सय २६ रुपैयाँबराबरको नगद लाभांशसहित कुल पाँच दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी आठौँ, नवौँ र १०औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड दुई लाख छ हजार दुई सय ४३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड २९ लाख ७८ हजार एक सय ५३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २७ करोड २२ लाख ७० हजार छ सय चार रुपैयाँ रहेको बैैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब पाँच करोड ३८ लाख ४२ हजार आठ सय १० रुपैयाँ निक्षेप संकलन गरी ९६ करोड २८ लाख ४७ हजार नौ सय ४७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ३७ लाख ८७ हजार चार सय तीन रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा दुई दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर नौ दशमलव २४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७२ करोड ३२ लाख ७१ हजार दुुई सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ७२ करोड ६१ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड २७ लाख १९ हजार पाँच सय ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ७९ प्रतिशत रहेको थियो ।