काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा अघिल्लो साता नौवटा कम्पनीहरूको सेयर सूचीकृत भएका छन् । नेप्सेका अनुसार लघुवित्त, बीमा र विकास बैंकसहित नौवटा कम्पनीहरूको बोनस तथा प्राप्तिपश्चात् कायम भएको सेयर सूचीकृत भएका हुन् ।
सोमध्ये मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नौ दशमलव १९ प्रतिशतको अनुपातमा तीन लाख ६४ हजार चार सय ४८ दशमलव ३५ कित्ता बोनस सेयर र सांग्रिला डेभलपमेन्ट बैंकको पनि पाँच प्रतिशतको अनुपातमा १३ लाख तीन हजार तीन सय २० दशमलव २० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १३ प्रतिशतको अनुपातमा १९ लाख ५० हजार कित्ता बोनस सेयर र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको पनि १२ दशमलव ३९ प्रतिशतको अनुपातमा चार लाख ५३ हजार चार सय २१ दशमलव ७७ कित्ता बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएका छन् ।
नेप्सेका अनुसार उक्त साता महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको अनुपातमा एक लाख ३३ हजार एक सय र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ प्रतिशतको अनुपातमा पाँच लाख ५४ हजार चार सय ९५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी सिभिल लघुवित्त वित्तीय संस्थाको तीन दशमलव पाँच प्रतिशतको अनुपातमा ८१ हजार आठ सय ७६ दशमलव ७९ र एभरेष्ट इन्स्योरेन्स कम्पनीको आठ प्रतिशतको अनुपातमा आठ लाख ७६ हजार सात सय ४४ कित्ता बोनस सेयर पनि यसै साता नेप्सेमा सूचीकृत भएका छन् ।