नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार दुई सय छ जनाको मृत्यु भएको जनाएको छ ।
भारतमा यसअघि एक दिनमा नौ सय ११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार एक सय ४५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार सात सय ६६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको कुल संख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो संख्या कुल संक्रमितमध्येको १.४८ प्रतिशत रहेको छ ।
संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको संख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार पाँच सय ३८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा ४५ हजार दुई सय ५४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।