अमेरिका । बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले गेट्स फाउन्डेसन छाड्ने भएकी छिन् । रोयटर्सका अनुनसार उनीहरुबीच सम्बन्धविच्छेद भएसँगै मेलिन्डाले फाउन्डेसन छाड्ने भएकी हुन् ।
दम्पतीको डिभोर्सपछि दुई वर्षसम्म दुवै सहप्रमुख रहने गरी फाउन्डेसनका कार्यलाई निरन्तरता दिइए पनि त्यसपछि भने उनले छाड्न सक्ने बताइएको छ । गेट्स फाउन्डेसन दान र समाजसेवाका लागि खोलिएको गैरनाफामूलक संस्था हो । यो फाउन्डेसनले गत दुई दशकयता ५० अर्ब डलर खर्च गरिसकेको छ । मेलिन्डाले छोडिन् भने बिल गेट्सबाट समाजसेवी कामका लागि व्यक्तिगत स्रोत प्राप्त गर्नेछिन् ।
यो फाउन्डेसनलाई यसअघि बिल र मेलिन्डाको चौथो सन्तानका रुपमा पनि हेर्ने गरिएको थियो । गत मेमा दम्पतीले सम्बन्धविच्छेद गरेका थिए । त्योसँगै २७ वर्ष लामो वैवाहिक जीवन टुंगिएको थियो । दुई जना छुट्टिए पनि समाजसेवामा भने सहकार्य गर्ने उनीहरुले बताएका थिए ।