काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिसन (प्राप्ति) एकीकृत कारोबार सुभारम्भ गरेको छ । बैंकले प्राप्ति प्रक्रिया पूरा गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । सो अवसरमा आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगीकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौँ,’ अध्यक्ष पौड्यालले भने ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुगेको छ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई एक सय ३५ पुगेको छ भने एटीएम काउन्टरको संख्या भने एक सय ८३ पुगेको छ ।
निक्षेपको आकार दुई खर्ब १६ अर्ब हुनेछ भने कर्जाको आकार दुई एक अर्ब भएको छ । (चैत्र मसान्तको वित्तीय विवरणअनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार दुई खर्बभन्दा माथि पुगेको छ । यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीती अनुसार बजारमा उपस्थित हुनेछ ।