हड.कड. । चिनियाँ बजार नियन्त्रकहरुले टेन्सेन्टको अर्बौँ डलरको मर्जर रोकिदिएको छ । योसँगै टेन्सेन्ट होल्डिंग्सको दुई चिनियाँ भिडियो गेम स्ट्रिमिङ साइटहरु हुया र डोयु मर्ज गर्ने योजना तुहिएको छ ।
गत वर्ष टेन्सेन्टले यी दुई साइट मर्ज गर्ने योजना सार्वजनिक गरेको थियो । टेन्सेन्ट हुयाको ठूलो सेयरधनी हो । त्यसमा टेन्सेन्टको ३६.९ प्रतिशत सेयर छ भने डोयुको केही हिस्साको स्वामित्व पनि रहेको छ । दुवै कम्पनी अमेरिकी सेयरबजारमा सूचीकृत भइसकेका छन् । जसको बजार मूल्यांकन पाँच अर्ब ३० करोड डलर रहेको छ ।
स्टेट एडमिनिस्ट्रेसन अफ मार्केट रेगुलेसन (एसएएमआर)ले सोमबार मर्जर रोक्नलागेको पहिलो समाचार रोयटर्सले लेखेको थियो । नियामकीय अधिकारीहरुले मर्जरबारे अध्ययनपछि यस्तो निर्णय गरेको बताइएको छ । दुई कम्पनी मर्ज गर्दा टेन्सेन्टको बजार एकाधिकार बढ्ने चिन्ता सरकारी अधिकारीले गरेका छन् । दुई साइट लिएसँगै टेन्सेन्टको स्वामित्व ७० प्रतिशत हुने सरकारी धारणा छ । अहिले नै अनलाइन गेम सञ्चालनको क्षेत्रमा ४० प्रतिशत बजार हिस्सा छ । हुया र डोयु चीनका नम्बर १ र नम्बर २ चर्चित भिडियो गेम हुन् ।