काठमाडौं । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख ३४ हजार आठ सय ५० मात्रा खोप सहयोगस्वरुप नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले नेपाल आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरेका हुन् ।
जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो । यसअघि अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पनि हस्तान्तरण गरेका थिए ।
थप दुई हजार ३ सय ७० मा कोरोना संक्रमण : काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार छ सय ८९ पीसीआर परीक्षणमा एक हजार छ सय ९० र तीन हजार आठ सय ९५ एन्टिजेन परीक्षण गर्दा छ सय ८० गरी जम्मा दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
सोमबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५७ हजार एक सय ३९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप एक हजार एक सय ३३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख २१ हजार २७ पुगेको छ । निको हुने दर भने ९४ दशमलव ५ प्रतिशत रहेको छ । अहिले देशभर २६ हजार सात सय १२ सक्रिय सङ्क्रमित छन् । यसमध्ये २३ हजार नौ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् भने दुई हजार सात सय ६५ संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये पाँच सय ४९ जनाको आईसीयू र एक सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म नेपालमा ३४ लाख २३ हजार एक सय ६४ को पीसीआर विधिबाट परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नौ हजार चार सय जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा चार सय ३३ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमा काठमाडौँमा सबैभन्दा धेरै २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना कोरोना सङ्क्रमित भेटिएका छन् ।